बायोटेक्नोलोजीको लाभ (Fruits of Biotechnology)


Here is a recent newspaper article published in The Nagarik News on October 20, 2011 on the current situation and recent effort in development of Biotechnology in Nepal including its harsh challenges. The article was written by my teacher and my boss Dr. Sameer Mani Dixit who at present is also working as the Team Leader of Nepal Biotechnology Center (NBC) Project. (The article is in Nepali language)

Article Source: http://www.nagariknews.com/opinions/98-opinion/32375-2011-10-20-07-07-00.html

नेपालमा जैविक प्रविधि शास्त्र ( बायोटेक्नोलोजी) भित्रिएको झन्डै दुई दशक भइसक्यो। यो सबैजसो क्षेत्रमा उपयोग हुनसक्ने विज्ञान हो। खाध्य, वन्यजन्तु, स्वास्थ्य, न्याय जस्ता विभिन्न क्षेत्रमा बायोटेक्नोलोजीको प्रयोग भइरहेको छ। संसारका ठूला देशहरूसँगै नेपालमा भित्रिएको विज्ञानको यो नयाँ विधालाई उपयोग गर्न सकिएको भए अहिले चीन र भारतलेजस्तै फाइदा लिन सकिन्थ्यो।

बायोटेक्नोलोजी कीटाणु, जीवाणु, बिरुवा, पशुपंक्षी मानव तथा अन्य सबै प्राणीलाई कुनै न कुनै प्रकारले परिमार्जित गर्ने विद्या हो। उदाहरणका लागि जीवाणुलाई कमजोर बनाएर त्यसले मानव जातिमा रोग लगाउनबाट रोक्नखोज्नु, फलफूलका बोटलाई धेरै उत्पादन दिने बनाउनु, धान गहुँजस्ता बालीको उब्जनी बढाउनु, जडिबुटीबाट नयाँ औषधि आविष्कार गर्नुजस्ता कार्य यस शास्त्रको उपयोगिता हो। जैविक प्रविधिले प्राणीका कोषभित्र पाइने ‘डी एनए’लाई वा डीएनएले बनाउने ‘प्रोटिन’लाई परिमार्जन गरेर त्यस्ता उपलब्धि हासिल गर्ने अवसर दिन्छ।

संसारका विकसित देशहरूले बायोटेक्नोलजीको सही प्रयोग गरेर धेरै आम्दानी गरिसकेका छन्। कृषि, खाध्य, औषधि तथा उपचारलगायतका क्षेत्रमा यस प्रविधिको प्रयोग गरेर संसारका हजारौं बायोटेक कम्पनीमध्ये सबैभन्दा ठुला दसवटाले २००९ मा मात्रै दस अर्ब अमेरिकि डलर (करिब ८०० अर्ब नेपाली रुपियाँ फाइदा गरे। अर्थात्, तिनले देशलाई पनि धेरै आम्दानी भिœयाइदिए। अरू बायोटेक कम्पनीले यसरी नै नाफा गरेका छन्। सबैको मिलाउने हो भने यो राशि निकै ठुलो हुनेछ। कुनै देशले बायोटेकनोलोजी क्षेत्रमा लगानी गरे कति फाइदा होला भन्ने सजिलै अनुमान गर्नसकिन्छ। भारतले २००६/७ मा मात्रै दुई अर्ब डलर (१६० अर्ब नेपाली रुपियाँ) बायोटेक उद्योगबाट कमायो। चीनले यसै उद्योगबाट ३ अरब डलर ( २४० अर्ब नेपाली रुपियाँ) कमाएको देखिन्छ।
नेपालमा किन यसबाट पर्याप्त लाभ लिन नसकिएको हो? यसको सरल उत्तर हो – यहाँको असहज राजनीति र भौतिक कठिनाइले गर्दा। यसो भनेर पन्छन खोज्नु भने हुँदैन। नेपालमा बायोटेकनोलोजी क्षेत्रमा धेरै काम र उन्नति गर्न सकिन्छ। यहाँका करिब ४५ वटा निजी क्षेत्रका औषधि कम्पनीमध्ये सबैजसो फाइदामै चलिरहेका छन्। त्यस्तै, नुडल्स, बियर, जुस आदि बनाउने खाद्य उद्योग पनि नाफामै छन्। अस्पतालहरू पनि त्यहीरूपमा चलिरहेका छन्। भौतिक पूर्वाधारका मापदण्ड त यी उद्योगमा पनि उत्तिकै लागु हुन्छ। त्यसो भए बायोटेक्नोलोजी अनुसन्धान र उद्योग नेपालमा चल्न र फस्टाउन केले रोकिरहेको छ त?
पहिलो, यो प्राविधिक विषयमा आधारित छ र एकदम दक्ष प्राविधिकमा भर पर्छ। त्यस्ता प्राविधिक यहाँ कमै संख्यामा छन् तर यहाँबाट विदेसिएका भने थुप्रै छन्। देशले यहीँ भएकालाई पनि काम दिएर राख्न सकेको छैन देशले। यस विषयमा विद्यार्थी बढ्ने क्रम जारी छ तर लोकसेवा आयोगले समेत त्यसलाई आधिकारिक मान्यता दिएको छैन। दक्ष जनशक्ति विदेश पलायन भइरहेको छ।
दोस्रो, नेपालमा अनुसन्धानमूलक कार्यक्रमको अभाव। अनुसन्धानबाट नयाँ आविष्कार हुन्छन्। नयाँ प्रविधिको प्रयोग सुरु हुन्छ। फलस्वरूप नयाँ सोचको थालनी हुन्छ। तर नेपालमा यस प्रकारको वातावरण अझै बनिसकेको छैन। हुनत, नेपालका मूलतः विश्वविद्यालयहरूमा जैविक क्षेत्रमा पनि ‘अनुसन्धानका लागि अनुसन्धान’ त थुप्रै भएका छन् तर अनुसन्धानलाई उत्पादनतर्फ नलगेसम्म उद्योग खोलिँदैनन् र देशमा पैसा भित्रिँदैन। हाम्रा छिमेकी र अरू विकसित देशका दक्ष प्राविधिकहरूसँग सहकार्य गर्न नसकिएकाले पनि यसप्रकारको अप्ठेरो देखिएको हो। सहकार्यको अर्थ विदेश घुमेर भेटघाट गर्ने नभएर तिनलाई यहीँ बोलाएर उनीहरूको अगुवाइमा सानातिना तर दीर्घकालीन अनुसन्धान गर्ने हो।
तेस्रो तर महत्वपूर्ण कारण, यहाँका पूर्वाधारलाई नियोजितरूपमा समेटेर लैजान नसक्नु हो। सरकारी क्षेत्रका विभिन्न विभागमा महंगा पूर्वाधारहरू नभएका हैनन्। सरकारी तहबाट पनि थोरै भएपनि केही ठोस काम पनि भएका छन्। जस्तो राष्ट्रिय कृषि अनुसन्धान केन्द्र। तर अधिकांश निकायका पूर्वाधार आवश्यकता भन्दा धेरै न्यूनरूपमा चलेका छन् र तिनीहरूबाट देशले खासै उपलब्धि पाउन सकेको छैन।
समाधान के हुनसक्छ?

पहिलो, समस्या बुझ्नुपर्छ। नेपाल सरकारका जिम्मेवार अधिकारीले समस्या बुझेपछि बल्ल केही पहल हुनथाल्छन्। बायोटेक्नोलोजीलाई समेटेर लैजानसक्ने राष्ट्रिय स्तरको निकाय आवश्यक छ।
बायोटेक्नोलोजी क्षेत्रमा देखिएका समस्या र तिनको समाधानबाट हुनसक्ने फाइदबारे विज्ञान तथा प्रविधि मन्त्रालयले मनन गरेजस्तो देखिन्छ। त्यसैकारण, हालै विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा नेपालमै पहिलो पटक राष्ट्रिय बायोटेक्नोलोजी सेन्टरको निर्माण सुरु गर्ने प्रक्रिया थालिएको छ। यो जिम्मेवारी नेपाल बायोटेक्नोलोजी एसोसिएसनलाई दिइएको छ र यसले अवधारणा पत्र मन्त्रालयमा पेस गरिसकेको छ। यस समूहमा सिनियर बायोटेक्नोलोजिष्ट मुकुन्द रञ्जित, अर्थशास्त्री सुरेन्द्र ढकाल, बायोटेक्नोलोजी व्यवस्थापनविद स्मिता शर्मा र पंक्तिकार पनि संलग्न रहेका छौँ।
यस केन्द्रको मुख्य कार्य देशमा बायोटेक्नोलोजीलाई आय आर्जन गराउने सघाउने संस्थाका रूपमा अगाडि लैजानु हो। यस केन्द्रको सुरुसंगै देशमा नयाँ प्रकारको अनुसन्धानात्मक सोचको विकास हुने लक्ष्य छ र यसबाट नयाँ आविष्कारको सम्भावना बढ्नेछ। यस सेन्टरले देश र विदेशका नेपाली दक्ष जनशक्तिलाई समेटेर अगाडि बढ्ने परिकल्पना गरिएको छ। देशभित्रकै उद्योगहरू, सरकारी र गैरसरकारी निकाय तथा शैक्षिक संस्थाको सहभागितामा यस संस्थाको विकासको अवधारणा अगाडि सारिएको छ। न्यून राजनीतिक हस्तक्षेपका लागि स्वायत्त कार्य सञ्चालन गर्न सहज पार्ने विधानका लागि कार्य थालनी भइसकेको छ। पहिलो पाँच वर्षको आर्थिक बजेट पनि पेसभइसकेको छ र राष्ट्रिय योजना आयोगबाट सुरु गर्न केही रकम निकासा हुने संकेत पनि देखिएका छन्।
दोस्रो, उद्योगहरूलाई अनुसन्धानमूलक कार्यमा आर्थिक तथा भौतिक लगानी गराउन राज्य अग्रसर हुनुपर्छ। त्यसो गरेबापत उद्योगलाई कर छुटजस्ता सहुलियत दिइएमा त्यसैबाट जुट्ने रकमले देशमा ठुलाठुला अनुसन्धानमूलक काम गर्न सकिनेछ। विदेशी वा सरकारी लगानी पर्खेर बस्नुपर्ने छैन। उद्योगले नै अनुसन्धानलाई अगाडि लगेका अवस्थामा नयाँ आविष्कार त पक्कै हुन्छ। अनि त्यसको फाइदा उद्योग र देश दुवैले पाउँछन्। विशेषगरी सुरुमा माथि उल्लेख भएका क्षेत्रहरू खाद्य, जडीबुटी र स्वास्थ्यसँगसम्बन्धित उद्योगलाई यसमा समावेश गर्नु उचित देखिन्छ।
तेस्रो, यस क्षेत्रमा लागिरहेका वैज्ञानिक, उद्योगपति, प्राध्यापक, विद्यार्थी र अनुसन्धानकर्मी सबै एकजुट हुनु जरुरी छ। अहिले विश्वमै सहकार्यको महत्व बढ्दै गएको देखिएको छ। सबैले आआफ्ना क्षेत्रबाट योगदान गर्दैछन्। आफ्नो क्षमताभन्दा बाहिरको काम अरू विज्ञ र संस्थासँग मिलेर गर्नु नै बुद्धिमानी ठानिन्छ। हामी पनि सबै सँगै अगाडि बढेमा यो लक्ष्यप्राप्ति अझै सरल हुनेछ। किन्त्तु, नेपालमा भने यो सोच अझै गम्भीर रूपबाट आइसकेजस्तो देखिन्न यद्यपि, समयको माग भने यही नै हो।
अबको युग बायोटेक्नोलोजीको हो भनेर त ११ वर्ष अघिनै भविष्यवाणी भइसकेको थियो। विकसित देशमा त्यसको प्रभाव देखिन पनि थालिसकेको छ । नेपालले पनि यसको फाइदा लिनुपर्छ। नेपाललाई बायोटेक्नोलोजीको प्रयोगले आत्मनिर्भर हुने मौका पनि दिनेछ। हाम्रा जडीबुटीमा मात्रै ध्यान दिने हो भने पनि नेपालले थोरै लगानीमा धेरै फलप्राप्ति गर्न सक्छ। त्यसैले अबको दस वर्षमा हामी सबै यस क्षेत्रमा पूर्णरूपले लाग्नु र सहयोग गर्नु अनिवार्य छ। यसले देशलाई पक्कै विकासको बाटोतर्फ उन्मुख गराउनेछ।
लेखक नेसनल बायोटेक्नोलोजी सेन्टर प्रोजेक्टमा टिम लिडर छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s